
काठमाण्डू, २१ जेठ– पूर्व सभामुख समेत रहेका नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश जारी गरेको छ ।
द्धन्द्धकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले उत्प्रेषण जारी गरेको छ ।
प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।
यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ । यस्तै अदालतको अवहेलना गरेको भन्दै सापकोटाले कनकमणि दीक्षित विरुद्ध दायर गरेको रिटमा मागदाबी नपुग्ने आदेश भएको छ ।