राजावादीको बैठकमा लिङ्देनलाई प्रश्नः संसद् चाहिएको भए आन्दोलन किन ?

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव अवस्था सिर्जाना भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको हो ।

समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए । तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्‌मा व्यस्त रहेको जानकारी गराइयो ।

त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भन्न थाले । कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘ तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस् ।

यसरी बैठक चल्छ ?’ त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए । ‘यो सभालाई विसर्जन गर्नुभन्दा पहिले साथिहरू सबैलाई धन्यवाद दिन चाहन्छु,’ सुवेदीले होहल्लाकै बीचमा भने, ‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’ उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us