
काठमाण्डू, २१ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको तर्क गरेका छन ।
आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे ।
उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने पनि बताएका छन । प्रतिपक्ष दलहरुले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने भन्दै राजीनामा मागेका छन् ।
गृहमन्त्रीमाथि छानबिन गर्न सरकार सहमत नहुँदासम्म संसद चल्न नदिने अडानमा प्रतिपक्षी दलहरु रहेका छन् । सत्तापक्ष र प्रतिपक्षले अडान कायम राख्दा संसद चल्न सकेको छैन । जसकारण संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।