राजीनामा नदिने गृहमन्त्रीको अडान

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १२:१० मा प्रकाशित

काठमाण्डू, २१ जेठ– गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने स्पष्ट परेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो ।

जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह समेत गरेका छन । समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए ।

तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

मन्त्री लेखकले समिति बैठकमा भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो ।

यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us