यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८२ जेठ २१ गते ७:१३ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । त्यस्तै कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानैदेखि प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा भएको छ । यस्तै सप्तरीको कल्याणपुरमा १७.२ मिलिमिटर, रूपनी बजारमा १७ मिलिमिटर, सिरहाको लहानमा १२.४ मिलिमिटर, विराटनगरमा १०.६ मिलिमिटर र धनकुटाको पाख्रिबासमा ५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

सिन्धुपाल्चोक, काभ्रे र काठमाण्डू उपत्यका क्षेत्रमा गएराति पनि वर्षात भएको थियो । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।

राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र मधेश प्रदेशका एक/दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us