
काठमाण्डू, २० जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको आन्दोलनलाई लक्षित गरी हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रचण्डको अभिव्यक्ति र दरबार हत्या काण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरुको स्मृतिमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा माओवादी सहायक संगठन वाइसीएलले अवरोध गरेकामा आपत्ति जनाएको हो ।
पूर्वयुवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्रको उपस्थितिमा भएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वपञ्च नवराज सुवेदीसहित राजावादीहरु सहभागी थिए । वाइससीलको अधिवेशन कमलादीस्थित प्रज्ञान प्रतिष्ठानमा जारी छ ।
प्रज्ञा भवन र राजावादीले कार्यक्रम आयोजना गरेको कमलादी मन्दिरको दूरी करिब १ सय मिटर छ । राजावादी र वाइसीएल कार्यकर्ताले केहीबेर एकअर्काविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीको उच्च सतर्कताका कारण परिस्थिति अप्रिय हुन पाएन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्जारा जारी विज्ञप्तिमा प्रचण्डले कार्यकर्तालाई हिंसा भड्काउन सक्साएको आरोप लगाइएको छ ।
‘स्वर्गबासी राजा वीरेन्द्र र राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आमजनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्ज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट वाइसीएलबाट भएको अवरोधको प्रयासको राप्रपा सशक्त विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ । यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्नेछ ।’
यस्तै राप्रपाले जारी आन्दोलनको अग्रमोर्चामा दृढताका साथ खडा हुँदै गर्दा केही सञ्चार माध्यममा राप्रपाको नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पर्ने गरी समाचार सम्प्रेषित भएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ । राप्रपा जारी आन्दोलनलाई निस्कर्षमा पु¥याउन पूर्ण प्रतिबद्ध रहेको भनिएको छ ।
भ्रम फैलाउने कार्यकर्ता कोही नेता कार्यकर्ता संलग्न भएको पाइए अनुशासनको विषय मात्र नबनी कारबाही गर्ने चेतावनी दिइएको छ ।