चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २० गते १७:२२ मा प्रकाशित

काठमाण्डू, २० जेठ– प्रहरीले ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक रहेको प्रहरीले जानकारी दिएको छ । आरोपीहरूलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन ।

चिडियाखाना घुम्ने बहानामा गएका उनीहरूले वैशाख ३० मा रेडपाण्डालाई समातेर झोलामा राखेर बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चोरीमा संलग्न मोहमद ताफिक स्वयम्भु क्षेत्रमा चराचुरुङ्गीको व्यवसाय गर्छन् । उनले कृष्ण गुरुङको सहयोग लिएर दोस्रो प्रयासमा रेडपाण्डालाई समातेर चिडियाखाना बाहिर लैजान खोजे पनि पाण्डा कराएर भाग्दै रुखमा चढेपछि उनीहरू असफल भएका हुन् ।

आरोपीहरू विरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us