रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाण्डू सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

काठमाण्डु टुडे २०८२ जेठ २० गते १७:०६ मा प्रकाशित

काठमाण्डू, २० जेठ– सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई काठमाण्डूमा सुरुवा गर्न माग गरेका छन ।

लामिछानेले सरुवा भएर काठमाण्डू जाने इच्छा व्यक्त गरेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले कारागार व्यवस्थापन विभागमा स्वीकृतिका लागि पत्र पठाएको छ । ‘उहाँले जेल सरुवा भएर काठमाण्डू जाने इच्छा व्यक्त गर्नुभएको छ ।

हामीले सरुवाको स्वीकृतिका लागि कारागार व्यवस्थापन विभागमा पत्र पठाएका छौँ । स्वीकृत भएर आएको छैन,’ रुपन्देही प्रशासन कार्यालय स्रोतले भन्यो । सर्वोच्च अदालतले बाहिर बसेर मुद्दा लड्न माग गरेको आदेश दिन अस्वीकार गरेपछि थुना अवधि थप लम्बिने देखेर लामिछानेले काठमाण्डू सरुवा मागेको प्रशासनले स्रोतले जानकारी दिएको छ ।

लामिछानेले परिवारका सदस्य र पार्टीका नेताहरूलाई पनि रुपन्देही आउन अप्ठ्यारो पर्ने भन्दै काठमाण्डू सरुवा मागेका थिए । अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजीकरण गरिदिन भनेकाले रुपन्देही कारागारले प्रक्रिया अगाडि बढाएको हो ।

विभागबाट निर्णय भए लगत्तै लामिछानेलाई काठमाण्डू पठाइने तर काठमाण्डूको कुन कारागार हो भन्ने नखुलेको कारागार कार्यालय रुपन्देहीले जनाएको छ ।

डिल्लीबजार कारागार वा केन्द्रीय कारागार सुन्धारामध्ये एक हुने कारागार कार्यालय स्रोतले जानकारी दियो । कारागार व्यवस्थापन विभागले अहिलेसम्म लामिछानेको सरुवाबारे निर्णय भई नसकेको बताइउको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us