
काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन ।
यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको दाबी छ ।
तर विपक्षीले आफूहरूका कुरा प्रष्ट राखेको बताइरहेका छन् । राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् ।
विपक्षीको यस मागबारे निर्णयमा पुग्न सत्ता पक्ष पनि आन्तरिक छलफलमा जुटेको हो । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमै चलिरहेको छ ।