गृहमन्त्रीको राजीनामाबारे विपक्षीलाई प्रधानमन्त्रीको जवाफः त्यस्तो हुँदैन

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग रिस उठेकै भरमा विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद् अवरोध गरेको दाबी गरेका छन ।

आज (सोमबार) पार्टीको संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधेकै भरमा विपक्षीले राजीनामा मागेको बताए ।

ओलीले भने, ‘अहिले केही नपाएर, गृहमन्त्रीको राजीनामा रे । तथ्य प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्‍यो । केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ, गृहमन्त्रीले राजीनामा दिनुपर्‍यो । त्यस्तो हुँदैन ।’

उनले सधैं संसद् अवरोध नहुने पनि बताए । प्रधानमन्त्री ओलीले भने, ‘जहिल्यै पनि संसद् अवरोध रु दुई जना उठ्यो करायो अनि संसद् अवरोध रु उहाँहरूको ज्यादती पनि धेरै भयो ।’

दलको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेका विपक्षी दलहरूको चरित्र चित्रण पनि गरे । ओलीका अनुसार, कसैले माइतीघर मण्डलामा पुगेर सापटी लिएको पैसा नपाएर आन्दोलन गर्‍यो भने पनि विपक्षीले समर्थन गर्ने गरेका छन ।

‘कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ पुग्छन् । जे सुकै कारणले होस्,’ ओलीले भने, ‘साइँलाले पैसा सापटी लिएको तिरेन मलाई भनेर कोही माइतीघर मण्डलामा आयो भने विपक्षी दलहरू सबै कुदेर मण्डलामा पुग्ने ।

हामी साथमा छौं, आन्दोलन नछाड्नुस्, सरकारले तपाईंलाई धोका दिनसक्छ, धोका नपाउनुस् । माग पूरा गराएर छाड्नुस्, तपाईंहरूले पैसा पाउनैपर्छ, सरकारले दिनुपर्छ भन्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us