
काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजावादी आन्दोलनका लागि उपत्यका आउने क्रममा रहेका आफ्ना कार्यकर्तालाई प्रहरीले दुःख दिएको आरोप लगाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आन्दोलनमा आउन लागेका कार्यकर्तालाई प्रहरीले नागढुंगा नाकामा अवरोध र अनावश्यक सोधपुछ गर्ने काम भएको आरोप लगाए ।
‘राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डू आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ’, श्रेष्ठले भने, ‘त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु ।’
राजतन्त्र र हिन्दू राज्य स्थापनाको माग राखेर राप्रपा, राप्रपा नेपाल र केही हिन्दू अतिवादी समूहले पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा आजदेखि काठमाण्डू केन्द्रित आन्दोलन गर्दैछन् । राजावादी समूहले रत्नपार्क र भृकुटमिण्डपमा दिउँसो २ बजेदेखि प्रदर्शन गर्दैछन् ।