ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

काठमाण्डु टुडे २०८० साउन ३१ गते २१:५८ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन् ।
काठमाण्डु जिल्ला अदालतले बिहीबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र शमरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई रिहा गर्न आदेश दिएको हो ।

आदेशमा उनीहरुलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई मुद्धा दर्ता गर्ने दिन अदालतमा पेश गर्ने गरी हाललाई रिहा गर्न आदेश भएको बताए ।

दुवै जना वृद्ध उमेरका भएकाले अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको अधिकारीले उल्लेख गरे । यसअघि सोही प्रकरणमा पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान हाजिरी जमानीमा छुटेका थिए ।

उक्त प्रकरणमा हाल भाटभटेनी सुपरमार्टेका सञ्चालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, नापी अधिकृत ध्रुव अर्याल, नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, नक्कली मोदी खडा गरिएका देवनारायण महर्जनसहित १८ जना अझै सिआईबीको हिरासतमा छन् ।

जिल्ला अदालतले उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अधिकारीले बताए । ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा नामसारी गरेको विषयमा सिआईबीले छानबिन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us