शीतल निवासको फोन: फोहोर उठाइदिनुस्

काठमाण्डु टुडे २०७९ चैत २७ गते १३:३० मा प्रकाशित

काठमाण्डु,२७ चैत– राष्ट्रपति कार्यालय शीतल निवासले आज (सोमबार) बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन आग्रह गरेको हो ।

तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले जानकारी दिएका छन ।

सञ्चालक घिमिरेले भने ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौं ।’

काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।

फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us