यो मुर्दा संसद् हो, मलाई जनप्रतिनिधि भन्नपनि लज्जाबोध भएको छ: यादव

काठमाण्डु टुडे २०७९ माघ १८ गते १६:१० मा प्रकाशित

काठमाण्डु,१८ माघ– जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले विगत केहीसातादेखि देशमा घटेका घटनाका कारण आफूलाई जनप्रतिनिधि भन्नपनि लज्जाबोध भएको बताएका छन ।

आज बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सांसद यादवले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखदायी भएको बताएका छन ।

उनले भने,‘आज हामी यो सदनमा बहस गरिरहेका छौँ, यही सदनअगाडि एकजना युवाले यो देशमा गरिखान पाइएन भनेर प्रेम आचार्यले आत्मदाह गरे ।

आज मैले सोचेको थिएँ यो सदनभित्र एउटा विशेष प्रस्ताव आउला कि के कारणले प्रेम आचार्यले के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए रु त्यसको बारेमा चर्चा होला तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ ।

प्रेम आचार्यको बारेमा कसैलाई चिन्ता भएन, चासो भएन । हामीचाँही अर्कै गाथा, अर्कै गीत गाइरहेका छौँ ।’ उनले सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको दलितको पनि महादलित रामदेव मरिक छोराको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गरेको बताउँदै संसदमा सांसदहरुले ठुला ठुला गफ दिने गरेको बताएका छन ।

उनले सरकार, सदन र व्यवस्थाले आफ्नो ज्यान बचाउन सकेपनि नाक बचाउन गाह्रो रहेको टिप्पणी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us