साझेदारी र सहयोग चिरस्थायी बनाउने चीनको प्रतिवद्धता

काठमाण्डु टुडे २०७६ साउन १० गते १२:५५ मा प्रकाशित


काठमाण्डु, १० साउन -चीनले नेपालसँगको साझेदारी र सहयोग चिरस्थायी बनाउने प्रतिवद्धता जनाएको छ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा चीनले दुई मुलुकबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास दिलाएको हो ।
चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले आयोजना गरेको स्वागत समारोहमा राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक साझेदारी चीनको चाहना भएको बताए।
चीनले कहीँ पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको उनले बताए।
चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यसैवर्ष गरेको चीनको राजकीय भ्रमणबाट नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै राजदूत हउले परम्परागत द्विपक्षीय सम्बन्धलाई दुई देशका उच्च सैनिक तहमा पनि प्रगाढ तुल्याइएको बताए । विपद् व्यवस्थापनसहितका पारस्परिक सैन्य अभ्यास हाम्रा सम्बन्धका दृष्टान्त हुन्’, उनले भने।
त्यसअघि समारोहका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले एकचीन नीतिप्रतिको नेपालको दृढ प्रतिवद्धता दोहोर्‍याउँदै सगरमाथा अभ्यास’ जस्ता चिनियाँ जनमुक्ति सेनासँगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताए।
उनले शान्तिपूर्ण सहअस्तित्वलाई अँगालेको नेपालले चीनको स्थायित्व, प्रगति र शान्ति चाहेको तथा उसले हासिल गरेका विकासका विविध आयामबाट लाभान्वित हुन नेपाल सचेत रहेको बताए।सैनिक सहचारी लिउले स्वागत मन्तव्य व्यक्त गर्दै चीनको राष्ट्रिय एकता, भौगोलिक अखण्डता रक्षाका साथै विश्व शान्ति र स्थायित्वमा योगदान गर्नु नै चिनियाँ जनमुक्ति सेनाको लक्ष्य भएको बताउनुभयो । राष्ट्रसङ्घीय शान्तिसेनामा रहेर जनमुक्तिसेनाका ३९ हजार पदाधिकारीले विश्वका २४ देशमा सेवा गरिरहेका जानकारी दिए ।
समारोहमा संवैधानिक अङ्गका पदाधिकारी नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजधानीस्थित कूटनीतिक नियोगका सैनिक सहचारी र वरिष्ठ पत्रकारको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us