
काठमाण्डु, १०साउन -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र स्कूल विभागको प्रमुख टुग्याउन सकस परिरहेका बेला पूर्व एमालेहरुको वालुवाटारमा दोस्रो पटक छुट्टै बैठक बसेको छ ।
पूर्व माओवादी केन्द्रले स्कूल विभाग दावी गरेपछि वालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग छुट्टै बैठक बोलाएका हुन । पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक बिहीबार समेत बस्न नसकेपछि ओलीले विहिबार साँझ नै पूर्व एमालेका नेताहरुसँग छलफल गरेका थिए ।
सचिवालय बैठक अनिश्चित भएको अवस्थामा समाधान धारणा बनाउन पूर्व एमाले नेताहरूको बैठक डाकिएको वालुवाटार स्रोतले भन्यो । सचिवालयमा पूर्व एमालेको तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका थिए । ६ जनै सचिवालय सदस्यहरूबीच एकमत भने छैनन।
अध्यक्ष ओलीलाई पोखरेल र पौडेलको साथ रहेको छ। नेपाल, खनाल र गौतम अर्को पक्षमा छन्। स्कूल विभागकै कारण पार्टी एकिकरणलाई बन्धक बनाउन नहुने पक्षमा नेपाल लगायतका नेताहरु रहेका छन् । हिजो छलफल पनि विना निष्कर्ष सकिएको वालुवाटार स्रोतले जनाएको छ । नेताहरु वेलुका चिया खाजा खाएर निस्केका थिए ।
स्कूल विभागको प्रमुखमा स्थायी कमिटि सदस्यहरुबाट पनि ल्याउन सकिने बारेमा छलफल भएको थियो । पार्टी अध्यक्ष ओलीले भीम रावल वा अन्य कुनै नेतालाई ल्याउने संकेत पनि गरेका छन् । र उनले वामदेव गौतम र झलनाथ खनालमध्ये कोही एक जना पनि हुनसक्ने संकेत गरेका छन् ।