२२० केजी गाँजा बरामद

काठमाण्डु टुडे २०७६ असार १७ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १७ असार- चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका-४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।

बरामद गाँजा, टिपर र चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको आचार्यले बताए । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । २०७६ वैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४०० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमानामा पर्ने विकट बस्तीमा लुकीछिपी गाँजाखेती तथा तस्करी बढी हुन्छन् । विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ ।
प्रहरीले गाँजा फडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us