
काठमाण्डु, १० जेठ – बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि मेले राजीनामा घोषणा दिएकी हुन् ।
उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् । उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ । उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायतको प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताइन् । सम्बोधनका क्रममा उनको गला अवरुद्ध भएको थियो । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताइन् ।
आफ्ना सरकारका उपलब्धिहरू उनले यस क्रममा बताइन् । बजेट घाटा, बेरोजगारी घटाएको अनि मानसिक स्वास्थ्यमा लगानी बढाएको उनले उल्लेख गरिन् ।
तर ब्रेक्जिट गराउन नसक्नु आफ्नो कमजोरी रहेको र सधैं पश्चात्ताप गर्ने उनको भनाइ थियो ।
मेले राजीनामा नदिएमा उनको दल कन्जर्भेटिभले उनका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने भएको थियो । उनले मंगलवार १० बुँदे नयाँ ब्रेक्जिट डीलको घोषणा गर्दा उनकै पार्टीका सांसदहरू आक्रोशित भएका थिए अनि विपक्षी लेबर पार्टी पनि त्यसमा विश्वस्त भएन ।
मे सरकारमा परराष्ट्रमन्त्री रहेका बोरिस जोनसोन आगामी प्रधानमन्त्री हुने सम्भावना छ । तर कन्जर्भेटिभ पार्टीका अन्य नेतामा पनि दौडमा छन् ।