देवघाट क्षेत्र विकास समितिले किन माग्यो १० करोड बजेट ?

काठमाण्डु टुडे २०७६ जेठ २ गते ११:३२ मा प्रकाशित

भरतपुर, २ जेठ – देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

‘यो वर्ष पूँजीगततर्फ ७५ लाख र चालूतर्फ २० लाख रुपैयाँ बजेट निकासा भएको हो’, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, ‘यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।’

देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ । ‘देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न छ अर्ब रुपैयाँ आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ’, उनले भने ।

गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट एक अर्ब, प्रदेश ३ बाट एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताए । तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

२०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उनको भनाइ छ । १० वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताए ।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि ज्येष्ठ नागरिक (वृद्धाश्रम) भवन निर्माणसम्मका काम गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । उनले ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत काम असारसम्म सम्पन्न हुने प्रतिबद्धता जनाए ।

चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ । विकास समिति ऐन, २०१३ अनुरूप देवघाट क्षेत्र विकास समिति गठन भएपछि २०५१ बाट औपचारिक कार्य सुरु भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us