
काठमाण्डु, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेसनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग संसद् भवनमा भेटवार्ता गरेका छन् ।
भियतनामपछि कम्बोडियाको औपचारिक भ्रमणमा आइपुगेका प्रधानमन्त्री ओली र नेसनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी विषयमा छलफल भएको थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए ।
उनले दुवै नेताले दुई देशका संसदबीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने छलफल गरेको बताए । प्रधानमन्त्री ओली भियतनामको पाँच दिने औपचारिक भ्रमणपछि सोमबार कम्बोडिया आइपुगेका हुन् ।
कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो । रासस