
काठमाण्डु, १० मंसिर– सार्क सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ नपुगे पनि नेपालका लागि कोसेली भने बोकेर आए ।
आएलगत्तै भारतीय लगानीमा निर्मित ट्रमा सेन्टर हस्तान्तरण गरेपछि टुँडिखेलमा नेपाली सेनालाई हेलिकोप्टर उपहार दिए ।
त्यसपछि प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सिंहदरबार पुगेका मोदीको उपस्थितिमा विभिन्न दश सम्झौतामा दुई देशबीच हस्ताक्षर भयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) लगायत महत्वपूर्ण हस्ताक्षर भयो ।
यस्तै, नेपाल प्रहरीको एकेडेमी निर्माणका लागि भारतले उपलब्ध गराउने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारले करिब आठ अर्ब ७९ करोड रुपैयाँ अनुदान सहायता प्रदान गरेको छ ।
प्रतिष्ठान निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह मन्त्रालयका सचिव स्नेहलता कुमारबीच हस्ताक्षर भएको थियो ।
यस्तै, नेपालका तीन सहर र भारतका तीन सहरबीच भगिनी सहरको सम्बन्ध गाँसिएको छ । राम र सीतासँग जोडिएको जनकपुर र अध्योध्या, शिवसँग जोडिएको काठमाडौं र बनारस तथा बुद्धसँग जोडिएको लुम्बिनी र गयालाई भगिनी सहर बनाइएको हो । ‘भगिनी सहर भएपछि दुवै सहरका अधिकारीबीच स्थानीय तहमा भ्रमण आदानप्रदान हुनेछ ।
विकासका अनुभव साटासाट गर्न एउटा सांकेतिक सम्बन्ध गाँसिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यबाहक सचिव पूर्णचन्द्र भट्टराईले भने ।
जनकपुर र अयोध्यालाई भगिनी सहर बनाउने सम्झौतामा भट्टराई र भारतीय राजदूत रन्जित रेले हस्ताक्षर गरेका थिए ।
त्यसैगरी काठमाण्डु र बनारसबीच सम्बन्धको सम्झौतामा राजदूत रे र काठमाण्डु महानगरपालिकाका धनबहादुर श्रेष्ठ तथा लुम्बिनी र गयाको सम्झौतामा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतम र राजदूत रेले हस्ताक्षर गरेका थिए ।
त्यसैगरी पर्यटन क्षेत्रमा सहकार्य गर्न भारत र नेपालबीच पहिलोपटक पर्यटन क्षेत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत भारतमा आउने पर्यटकलाई नेपाल आउन प्रेरित गर्ने र लुम्बिनी र बोधगयामा बुद्धिस्ट सर्किट निर्माण गर्नेलगायतका कार्यक्रम समावेश छन् ।
नेपालमा आयुर्वेद चिकित्सामा स्नातक गरेकाहरू अब भारतमा स्नातकोत्तर गर्न जान पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ र भारतीय राजदूत रेबीच सिंहदरबारमा पारम्परिक औषधिको सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपालका जुनसुकै विश्वविद्यालयमा अध्ययन गरेको भए पनि भारतीय विश्वविद्यालयले मान्यता नदिँदा आयुर्वेद र होमियो चिकित्साका विद्यार्थीलाई समस्या परेको थियो ।
‘यो हाम्रा लागि राम्रो उपलब्धि हो । अब नेपालका आयुर्वेद र होमियो चिकित्सकले मान्यता पाएपछि नेपालको आयुर्वेदको विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ,’ आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले भने ।
त्यसैगरी युवाको विकासका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसले नेपालका युवाको विकासमा सघाउने उद्देश्य लिइएको छ ।
त्यस्तै नेपाल र भारतबीच गाडी सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब नेपालबाट निजी सवारी निश्चित कर तिरेपछि निश्चित समयका लागि भारतका जुनसुकै सहर जान सक्छन् ।
यो सम्झौतामा गत महिना सहमति जुटेको हो । यसैगरी मंगलबारबाटै दिल्ली– काठमाण्डु बस सञ्चालनमा आएको छ । यस्तै, माटो परीक्षणमा सघाउने मोबाइल टेस्टिङ भ्यान पनि मोदीले कृषि विकास मन्त्रालयलाई उपहार दिए ।
नयाँ पत्रिकाबाट