काठमाण्डु, ९ मंसिर– पार्टी संस्थापनसँग सम्बन्ध विच्छेद गरेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पक्षमा अर्का पोलिटब्युरो सदस्य पनि थपिएका छन् । पोलिट्ब्युरो सदस्य धर्मेन्द्र बास्तोला विप्लव पक्षमा लागेको विप्लव पक्षीय एक नेताले काठमाण्डु टुडेलाई बताए ।
बास्तोला यसअघि दुई पक्षलाई मिलाउन मध्यमार्गी धारमा लागेको बताइएको थियो । आज बिहान भएको विप्लव पक्षको बैठकमा उनी सहभागी भएको स्रोतले बतायो ।
विप्लवलाई यसअघि १३ सदस्यीय पोलिटब्युरोमा खड्गबहादुर विकले मात्र साथ दिएका थिए । वैकल्पिक सहित ४५ सदस्यी केन्द्रीय सदस्य विप्लव पक्षमा लागेको बताइएको थियो ।
विप्लवले सोमबार मात्रै मोहन वैद्य ‘किरण’ले क्रान्तिको नेतृत्व गर्न नसक्ने भन्दै उनीसँग सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए ।
विप्लवको यस घोषणासँगै नेकपा–माओवादी औपचारिक रुपमा दुई वटा समूहमा विभाजन हुन पुगेको हो ।