इलाममा ११ शिक्षकले दिए राजीनामा

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ४:४० मा प्रकाशित

इलाम, ९ मंसिर– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्र छानबिनका लागि माग गरेको तीन हप्ता बित्न नपाउादै इलामका ११ जना शिक्षकले पदबाट राजीनामा दिएका छन् । आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्रको विवरण जिशिकामार्फत माग गरेपछि शिक्षकले धमाधम राजीनामा दिन थालेका हुन् ।

आजभोलि जिशिका इलाममा शिक्षकको विवरण बुझाउनेको भिड लागेको छ । मंसिर १५ सम्ममा शिक्षकको विवरण ल्याइसक्नुपर्ने जिशिकाले निर्देशन दिएपछि भिड बढेको हो ।

अख्तियारले शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने भन्दै जिशिकामार्फत विवरण माग गरेपछि उनीहरूले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । जिशिकाले राजीनामा दिने शिक्षक र विद्यालयको नाम गोप्य राखेको छ । जिल्लामा अझै पनि केही शिक्षकले राजीनामा दिने बुझिएको जिशिअ गौतमले बताए ।

प्राथमिक तहमा एक हजार पाँच सय ८७, निमाविमा चार सय २८, मावि तहमा दुई सय ८० र उच्चमाविमा ४९ गरी दुई हजार तीन सय ४४ जना शिक्षक कार्यरत छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us