
काठमाण्डु, ८ मंसिर–नेपालका माओवादीहरुले ८ मंसिरलाई आफ्नो इतिहासको गौरवपूर्ण दिनका अवसरमा स्मरण गर्ने गरेका छन् ।
सरकारसँग पहिलो वार्ता भंगको घोषणा गर्दै माओवादीले ८ मंसिर २०५८ मा पहिलोपटक तत्कालिन शाही सेनामाथि हमला गरेको थियो ।
माओवादीले दाङको घोराहीमा रहेको सैनिक ब्यारेक कब्जा गरी त्यहाँ रहेका सम्पूर्ण हतियार तथा गोली गठ्ठा लगेका थिए ।
त्यसको तीन दिनपछि ११ मंसिर २०५८ मा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकमा संकटकाल घोषणा गरेको थियो ।
दाङसँगै सोही दिन माओवादीले स्याङजा र सोलुखुम्बु सदरमुकाममा एकैसाथ आक्रमण गरेका थिए ।
त्यसको ठीक ११ वर्ष पूरा भएकै दिन नेकपा–माओवादीको असन्तुष्ट सचिव नेत्रविक्रम चन्द पक्षले मोहन वैद्यसँग सम्बन्ध विच्छेदको औपचरिक घोषणा गरेको छ ।
वैद्यसँग सम्बन्ध विच्छेद गर्न चन्द पक्षले ८ माघलाई नै रोजेर आफ्नो भविष्यको राजनीतिक बाटोबारे संकेत गरेको हुन सक्छ ।
‘पहिलो वार्ता भंग गरेर सेनामाथि आक्रमण गर्नु माओवादी इतिहासको एउटा महत्वपूर्ण दिन थियो’, एमाओवादी सल्लाहकार समेत रहेका राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘ठीक त्यही दिन वैद्यजीसँग सम्बन्ध विच्छेदको घोषणा गरेर चन्दजीले आफू ‘बातबहादुर’ नभएर ‘कामबहादुर’ भएको सन्देश दिन खोजेको हुनसक्छ ।’
चन्द पक्षले गत कात्तिक अन्तिम साता कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गरेपछि संस्थापनले फुट परस्त गतिविधि गरेको भन्दै चन्द र सो पक्षका पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग लिखित स्पष्टीकरण सोधेको थियो ।
तर स्पष्टीकरणको निर्णय फिर्ता नलिएसम्म बैठकमा नजाने अडान लिएपछि वैद्य र महासचिव रामबहादुर थापाले उक्त निर्णय फिर्ता लिएका थिए ।
स्पष्टीकरण लिने निर्णयबाट वैद्य र थापालाई पछि हटाएर राजनीतिक जित भएको सन्देश दिन सफल भएको चन्द पक्ष आइतबारको विस्तारित बैठकमा सहभागी भयो ।
तर अध्यक्ष वैद्यले विधि, पद्दति र अनुशासन नमान्नेले पार्टी छाडे हुने चेतावनी दिएपछि विच्किएको चन्द पक्षले सोमबार सम्बन्ध विच्छेदको घोषणा गरेको हो ।