यस्तो छ विप्लवले वैद्यलाई बुझाएको सम्बन्ध बिच्छेदकाे पत्र‍

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ११:०२ मा प्रकाशित

biplavकाठमाण्डु, ८ मंसिर– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार पार्टी अध्यक्ष मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।

उनले वक्तव्य जारी गरी केन्द्रीय समितिको पूर्ण बैठक बहिष्कार समेत गरेका हुन् । विप्लवको वक्तव्यको पूर्ण पाठ यस्तो छ, जस्ताको तस्तै :

————-
हाम्रो पार्टी नेकपा–माओवादीमा लामो समयदेखि वैचारिक बहस चल्दै आएको सर्वविदितै छ । मुख्यतः नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा हाम्रो बहस चल्दै आएको हो । यस विषयमा पार्टीभित्र गम्भीर मतान्तर देखा परे । पदाधिकारी र पोलिट्ब्युरोको बैठकबाट ती विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी ठोस निष्कर्ष निकाल्ने निर्णय पार्टीमा भएको थियो ।

सो क्रममा राष्ट्रिय सम्मेलनका लागि फरक दस्तावेजहरु समेत तयार भएका थिए । जब दस्तावेजहरु तयार भए, तब पार्टी मूल नेतृत्वबाट आश्चर्यजनक रुपमा सम्मेलनलाई रोक्ने प्रस्ताव आयो । त्यसपछि पार्टीमा झन् अन्यौलता र अकर्मण्यता बढ्दै  गयो ।
पार्टीको गत्यावरोध तोड्नका लागि अन्तिम प्रयत्न स्वरुप हामी ७ मंसिर २०७१ को केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी भएका थियौं । तर, किरण लगायतका कमरेडहरुको भूमिकाले पार्टीको गत्यावरोध झन् बढ्ने स्पष्ट देखियो । यसरी लामो समयदेखि कायम रहेको गत्यावरोध तोड्न नसक्ने र अन्यौलता बढ्दै जाने स्पष्ट भयो ।

क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग सङ््घर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौं । साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।
क्रान्तिकारी अभिवादन सहित !
विप्लव
सचिव
नेकपा–माओवादी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us