फेरि ब्युँतियो मधेसी मोर्चा

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १०:२४ मा प्रकाशित

bijay gachchhadarकाठमाण्डु, ८ मंसिर– संविधानसभामा रहेका मधेस केन्द्रित दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार ब्युँताएका छन् ।
उनीहरुले आजै पत्रकार सम्मेलन गरी मोर्चा घोषणा गरेका हुन् । संविधानसभाका ६ मधेसी दलले आठ बुँदे घोषणापत्रसहित मोर्चा पुनर्गठन गरेका हुन् ।

मोर्चाको घोषणापत्रमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सदभावना अध्यक्ष राजेन्द्र महतो, मधेस समाजवादी पार्टीका शरदसिंह भण्डारी र तराई मधेस सदभावना पार्टीकी उपाध्यक्ष रानी शर्मा तिवारीकाे हस्ताक्षर छ ।

मोर्चाले पहिचान र सामथ्र्यको सिद्धान्तका आधारमा संघीयताको निर्माण गराउने र प्रदेश गठन गर्दा तराई मधेसको कुनै पनि भू भागसँग पहाडलाई जोड्न नदिने निर्णय सुनाएको छ ।

मोर्चाको अवधारण, संगठनात्मक संरचना, कार्यविधि र आचारसंहिता तयार गर्न कार्यदल गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यदलमा हृदयेश त्रिपाठी, जितेन्द्र देव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण, रानी शर्मा तिवारी र शेखर कुमार सिंह रहेका छन् ।

‘हामी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गर्दैछौं’, गच्छदारले भने, ‘संविधान निर्माणमा दबाबमुलक भूमिका खेल्न मोर्चा बनाउन लागेका हौं ।’

उनले मोर्चा घोषणापछि २२ दलीय मोर्चा थप सशक्त हुने दाबी गरे ।

यसैबीच २२ दलीय मोर्चाले राजधानीमा सोमबार गरेको पत्रकार सम्मेलनमा गच्छदारले मधेसवादी दल सरकारमा जाने सम्भावना नरहेको बताए ।

उनले संविधानसभाबाट संविधान जारी नभएसम्म आफूहरु सरकारमा नजाने प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us