काँग्रेस–एमालेले बाबुरामको नैतिकतामा प्रश्न उठाएकामा प्रचण्डको आपत्ति

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ८:४२ मा प्रकाशित

prachandaकाठमाण्डु, ८ मंसिर– प्रतिपक्षी २२ दलीय मोर्चाले संवैधानिक एवम् राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको प्रतिरक्षा गर्दै कांग्रेस–एमालेले भट्टराईको नैतिकतामाथि प्रश्न उठाउन नमिल्ने दाबी गरेका छन् ।

सोमबार राजधानीको शंकर होटलमा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘भट्टराईले संविधान सभा कार्यसंचालन नियमावली मिचेर प्रतिवेदन संविधान सभामा पठाउन सक्दिनँ भन्नुभएको छ, कांग्रेस–एमालेले उहाँकै नैतिकतामाथि प्रश्न उठाउन मिल्दैन ।’

प्रचण्डले सत्तारुढ दलहरुले नै बहुमतीय गणितका आधारमा नौबुँदे सहमति गरेर सहमतिको राजनीतिलाई झड्का दिएको उल्लेख गरेका छन् । उनले संसारमा आन्दोलनका सहयात्री दलहरुबीच कहिल्यै पनि अल्पमत र बहुमतको आधारमा निर्णय गर्ने प्रचलन नभएको भन्दै कांग्रेस–एमालेले बहुमतको गणित प्रयोग गरी १२ बुँदे सहमति, अन्तरिम संविधान र शान्ति सम्झौता समेतको उल्लंघन गरेको आरोप लगाए ।

४३ जना सभासद्को हस्ताक्षर गराएर संवाद समितिका सभापतिलाई आफूहरुको प्रस्ताव संविधान सभामा लैजान दबाब दिएको प्रति प्रचण्डले असन्तुष्टि जनाए । उनले सत्तारुढ दलले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र उल्टाएर इतिहासको चक्कालाई उल्टो गुडाउन खोजको दाबी गरे ।

कांग्रेस–एमालेको निर्णयले देशलाई द्वन्द्व र दुर्घटनामा लैजाने प्रचण्डको भनाइ छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us