सार्कले सम्झायो ‘सङ्कटकालीन’ चेकिङ

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– दृश्य एक : खचाखच यात्रु बोकेर कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको माइक्रो बस बल्खु नपुग्दै बीचैमा रोकियो । चालकले भने, ‘सबै ओर्लनुस्, गाडीको ब्रेक फेल भयो । अर्कोमा जानुस् ।’ यात्रुहरू झर्नासाथ गाडी रित्तै दगुर्याे । पछि थाहा भयो, झुक्केर गाडी चलाएका चालकले सरकारले आजैदेखि जोर–बिजोर लागू गरेको सम्झेपछि ‘ब्रेक फेल भो’ भन्दै आफ्नो बिजोर गाडी भगाएका रहेछन् ।

दृश्य दुई : तनहुँबाट काठमाण्डु फर्कंदै गरेका एक यात्रु कोटेश्वरमा भन्दै थिए, ‘नागढुंगामा प्रहरीले गरेको चेकिङले सङ्कटकालको सम्झना गरायो । अश्लील गाली र पाटपिट पार्ने बाहेक सबै प्रक्रिया सङ्कटकालको जस्तो थियो । गाडीबाट झार्ने, झोला खोतलखातल पार्ने र गोजी सबै छाम्ने । निकै दुःख पाइयो ।’

दृश्य तीन : बानेश्वरमा गाडी पर्खिरहेका एक यात्रु गृह मन्त्रीलाई गाली गर्दै थिए, ‘मान्छेलाई पनि जोर–बिजोर उमेरका मान्छे बाहिर निस्क भनेको भए यति दुःख त पाइने थिएन । गाडीलाई मात्रै जोर–बिजोर चलाऊ भनेर हामी मान्छे केमा चढ्ने ?’

यी दृश्यहरूले काठमाडौंको ट्राफिक अव्यवस्थाबाट सर्वसाधरणमा पर्न गएको असुविधाका झलक हुन् । अठारौं सार्क शिखर सम्मेलनको सुरक्षा व्यवस्था गर्न भन्दै सरकारले मंसिर ८ गतेदेखि जोर–बिजोर प्रणाली अन्तर्गत जोर गते अन्तिम जोर अंक भएका गाडी र बिजोर गते अन्तिम बिजोर अंक भएका गाडी मात्रै चलाउने व्यवस्था गरेको छ । यसले सवारी साधनमा यात्रा गर्नुपर्ने ५० प्रतिशत सर्वसाधरण यात्रुले दुःख पाएका छन् ।

त्यस्तै आजै बिहान सरकारले विशिष्ट पाहुनाहरूको यात्राको ‘रिहर्सल’ गर्दा भएको ट्राफिक जामले पनि थुप्रै सर्वसाधरणले दुःख पाए । बिहान काठमाडौंमा देखिएको ट्राफिक अव्यवस्थाका केही दृश्यहरू हेरौं :

(तस्बिर : काठमाडौं टुडे ।)

1

2

3

4

5

6

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us