सार्क स्थायी समितिको बैठक आज पनि जारी

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ६:०७ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारी स्वरुप आइतबारदेखि सुरु भएको सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरीय स्थायी समितिको ४१ औँ बैठक आज पनि जारी छ ।
SAARC
आज बिहान काठमाण्डुमा सुरु भएको बैठकमा सहसचिवस्तरीय कार्यक्रम समितिद्वारा प्रस्तुत ४६, ४७, ४८ र ४९ औँ बैठकका प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

सोल्टी होटलमा भइरहेको यो बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) तथा दक्षिण एसियाली सेवा व्यापार (एसएटिआइएस) सहित आर्थिक तथा वित्तीय सहयोगबारे छलफल भइरहेको थाहा भएको छ ।

त्यसैगरी, बैठकमा सार्क विकास कोषलाई क्षेत्रीय विकासमा प्रभावकारी उपयोग गर्ने विषयमा विचार विमर्श हुनाका साथै गरिबी निवारण, सूचना तथा सञ्चार र यातायात सम्पर्कका विषयमा पनि ठोस निर्णय लिइने बताइएको छ ।

सार्क राष्ट्रका सबै सदस्य मुलुक सहभागी उक्त बैठकमा हिजो माल्दिभ्सका परराष्ट्र सचिव तथा उक्त देशका प्रतिनिधिमण्डलका नेता अली नसेर मोहम्मदले स्थायी समितिको अध्यक्ष पद नेपालका कामु परराष्ट्र सचिव शंकरदास बैरागीलाई हस्तान्तरण गरेपछि बैठक प्रारम्भ भएको थियो ।

आज सम्पन्न हुने स्थायी समितिको यो बैठकले भोलि मंगलबार यहाँ हुने सार्क मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us