
काठमाण्डु, ८ कात्तिक– चेकिङका लाइसेन्स र ब्लुबुक माग्नु पर्नेमा स्कुटर चालक युवतीसँग ‘किस’ मागेको भन्दै ट्राफिक प्रहरीका एक सहायक निरीक्षक (असई) कारबाहीमा परे ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत पुरुषोत्तम ढकालले ३ मंसिरको राति डिल्ली बजारमा चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका थिए ।
उक्त विषयले सामाजिक सञ्जालहरुमा भाइरलको रुप लियो । प्रहरी आचरणविरुद्दको काम गरेका ढकाल अहिले निलम्बनमा छन् ।
ट्राफिकले मात्र होइन, चालकले पनि ट्राफिकमाथि त्यस्तै प्रकृत्तिको दुव्र्यवहार गर्ने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
खास गरी निजी नम्बर प्लेटका चालकले ट्राफिक व्यवस्थापनमा सडकमा खटिने महिला प्रहरीमाथि ‘यौनजन्य दुव्र्यवहार’ गर्ने गरेका छन् ।
महाशाखा प्रमुख एसपी वसन्त पन्तले चालकहरुबाट महिला वा पुरुष दुवै प्रहरी दुव्र्यवहारमा पर्ने गरेको बताए ।
‘जनमानसमा ट्राफिकले चालकलाई दु:ख दिन्छ भन्ने भ्रम परेको छ’, पन्तले काठमाण्डु टुडेसँग भने, ‘कर्तव्य पालनामा अहोरात्र खटिने ट्राफिकमाथि हुने गरेको दुव्र्यवहार कसैले देख्दैन ।’
महिला प्रहरीमाथि चालकहरुले खराब नियतले जिस्क्याउने गरेको उनी स्वीकार गर्छन् । त्यस्ता केही चालकलाई कारबाहीमसेत गरिएको महाशाखाले जनाएको छ ।
एक अधिकारीका अनुसार ट्राफिक महिलाले आफ्नै बेइज्जत हुने डरले त्यस्ता घटना लुकाउँदा दोषी उम्कने गरेका छन् । एक अधिकारीका अनुसार निजी सवारी चालकले ट्राफिक प्रहरीलाई उनीहरुको रुपको प्रशंसा गर्ने गरेका छन् ।
‘ट्राफिकले गरेको सामान्य गल्तीलाई मात्र हाइलाइट गर्ने गरिएको छ, ट्राफिकले चालकसँग किस माग्नु गल्ती हो, त्यसैले उसले अपराधअनुसारको सजाय भोगेको छ ‘महाशाखा एक अधिकारीले भने, ‘चालकले महिला ट्राफिकसँग ‘किस’ मागेको समाचार किन बन्दैन ?’ उनका अनुसार कतिपयले टेलिफोन नम्बर समेत माग्ने गरेका छन् ।
ट्राफिक महिला पनि दुव्र्यवहार हुने गरेको स्वीकार गर्छन् । ‘हामी सडकमा खटिएर काम गर्नुपर्छ’, एक ट्राफिक अधिकृतले भनिन्, ‘ड्युटीका क्रममा डिल गर्नुपर्छ, त्यतिबेला भनाभन पनि हुन्छ, कतिपय बेलामा दुव्र्यबहार सहनुपर्छ ।’