चितवनमा नागरिकताभन्दा पासफोर्ट लिने तीन गुणा बढी

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ३:०९ मा प्रकाशित

चितवन, मंसिर– चितवन प्रशासनले गएको एक महिनामा तीन हजार दुई सय जनालाई राहदानी सिफारिस गरेको छ ।

आइतबार प्रशासनले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै करिब तीन हजार दुई सय जनालाई राहदानीका लागि सिफारिस गरेको जनाएको छ ।

राहदानीलगायत अन्य क्रियाकलापबाट कुल  एक करोड ७१ लाख रुपैयाँ राजस्व संकलनसमेत गरेको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले जानकारी दिए ।

सात लाख रुपैयाँ बजेट खर्च भएको समेत प्रशासनले आय–व्यय सार्वजनिक गरेको छ ।

कात्तिक महिनामा द्रूत सेवामार्फत एक हजार तीन सय सात र साधारण सेवामार्फत एक हजार आठ सय ८७ जनाको सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी चिकित्सक मानबहादुर विकले आइतबार जारी गरेको विज्ञप्ति उल्लेख छ ।

त्यस्तै एक हजार दुई सय २२ जनालाई नागरिकता वितरण गरेको प्रशासनले जनाएको छ । कात्तिक महिनामा ३६ वटा मुद्दा दर्ता भएकामा १२ वटा फैसला भएको प्रमुख जिल्ला अधिकारी विकले जानकारी दिए ।

यसैगरी कात्तिक मै छ वटा सरकारी कार्यालयमा अनुगमन गर्नुका साथै चार पटक बजार अनुगमन गरिएको छ । विपद्मा परेकालाई दुई लाख ४० हजार  रुपैयाँ राहत उपलब्ध गराएको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us