सार्क मुलुकका परराष्ट्रमन्त्री आज आउँदै

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते २:०२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– आगामी बुधबार र बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज काठमाण्डुमा आउँदै छन् ।

१८ औँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा भाग लिन अफगानिस्तानका कायममुकायम परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बंगलादेशका विदेशमन्त्री अब्दुद हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलंकाका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस आज आउँदै छन् ।

भोलि हुने मन्त्रिपरिषद् बैठकमा अफगान परराष्ट्रमन्त्री ओसमानीले चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने विदेशमन्त्री नेतृत्वको बंगलादेशी टोलीमा १० जना सदस्य हुनेछन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार बैठकमा चार सदस्यीय भुटानी प्रतिनिधिमण्डलको प्रतिनिधित्व रहने छ भने भारतीय प्रमण्डलमा नौ सदस्य छन् । त्यस्तै नौ सदस्यीय श्रीलंकाली प्रतिनिधिमण्डल र सात सदस्य रहेको पाकिस्तानी टोली परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछ ।

उक्त बैठकमा १८औँ शिखर सम्मेलन आयोजक मुलुक नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने कार्यक्रम छ ।

मन्त्रिपरिषद् बैठकका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले आफ्ना समकक्षीहरूको सम्मानमा भोलि साँझ सिंहदरबारस्थित ‘ग्यालरी हल’ मा रात्रिभोज आयोजना गर्ने जनाइएको छ ।

सार्क प्रावधानअनुसार कार्यक्रम समिति, स्थायी समिति, मन्त्रिपरिषद् र शिखर सम्मेलन आयोजना हुने गरेको छ । सदस्य मुलुकका सार्क महाशाखा हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक गत शनिबार सम्पन्न भइसकेको छ भने परराष्ट्र सचिवहरु सम्मिलित स्थायी समितिको बैठक आज अपराह्न समाप्त हुनेछ । मंगलबार मन्त्रिपरिषद् बैठक पूरा भएपछि सार्क मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूको बैठक अर्थात शिखर सम्मेलन बुधबार र बिहीबार हुनेछ ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ नाराका साथ आयोजना हुने १८ औँ शिखर सम्मेलनमा सहभागी हुन सार्क मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू मंगलबार राजधानी आइपुग्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us