हाक्किमले बिदा नदिँदा समयमै उपचार नपाएर कर्मचारीको ज्यान गयो

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १५:३१ मा प्रकाशित

मुगु, ७ मंसिर– बिरामी कर्मचारीको हाक्किमले समयमै बिदा नदिँदा उपचार अभावमा ज्यान गएको छ ।

हाक्किमले उपचारका लागि बिदा नदिएका कारण समयमै उपचार नपाउँदा नेपाल विद्युत प्राधिकरण गमगाढ साना जलविद्युत वितरण केन्द्रका कार्यालय सहयोगी जुम्ला घर भएका ४० वर्षीय परेलाल बुढाको ज्यान गएको हो ।

रुघा खोकी र निमोनियाले ग्रस्त भएपछि बुढाले कार्यलय प्रमुख अमित गौतमसँग बिदा मागेका थिए ।

तर दसैं तिहारमा लामो समय बिदामा बसेर आएको भन्दै गौतमले बिदा दिन मानेनन् ।

अवस्था गम्भीर भएपछि  उनलाई उपचारका लागि १ मंसिरमा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा २ मंसिरमा मृत्यु भएको हो ।

बिदा दिन अस्वीकार गरेका कार्यालय प्रमुख गौतमले बुढा कार्यालयमै ढलेपछि मात्र अस्पताल लान अन्य कर्मचारीलाई भनेका थिए ।

जिल्ला अस्पतालका डा. रणबहादुर बोगटीले अस्पताल आउन ढिला भएका कारण उनको अवस्था गम्भीर रहेकाले बचाउन नसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us