काठमाण्डु, ७ मंसिर– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डुबाहिरको धार्मिक भ्रमण रद्द हुनुमा नेपालको कुनै दोष नरहेको दाबी गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मोदी भ्रमण भारतकै आन्तरिक कारणले रद्द भएको बताएको हो ।
भारतीय विदेश मन्त्रालयले आइतबारै सार्क सम्मेलनमा सहभागी हुन आउने क्रममा मोदीले गर्ने भनिएको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको जनाएको थियो ।
मन्त्रालयले मोदीको भ्रमण उनकै घरेलु प्रतिबद्धता र पूर्वनिर्धारित यात्राका कारण स्थगित उल्लेख छ । सरकारले मोदी भ्रमणको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा भ्रमण स्थगन हुन पुगेको जनाएको छ ।
भौतिक पूर्वधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले मौखिक जानकारीका आधारमा विज्ञप्ति जारी गरी बिहीबार मोदी भ्रमण स्थगित भएको बताएका थिए ।
लगत्तै भोलिपल्ट पत्रकार सम्मेलन गरी परराष्ट्रले भ्रमण स्थगन भएको भन्दै निधिले विज्ञिप्त जारी गरेकामा आश्चर्य प्रकट गर्दै उनको पूर्वनिर्धारित भ्रमण तालिकामा कुनै हेरफेर नभएको दाबी गरेको थियो ।