काठमाण्डु, ७ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विधि र पद्दती नमान्ने भए पार्टी छाडेर जान सचिव नेक्रविक्रम चन्दलाई चेतावनी दिएका छन् ।
नेवा: राज्य समिति कार्यालय कुपण्डोलमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा आइतबार राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष वैद्यले पार्टीमा बस्न मन भए विधि, प्रक्रिया र अनुशानको दायरामा बस्न चन्दलाई आग्रह गरे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले पार्टीमा सबैले विधि, पद्दति र अनुशासन मान्नुपर्ने बताइन् । ‘पार्टीमा विवाद हुनु स्वभाविक हो’, वैद्यको भनाइ उद्धृत गर्दै भुसालले भनिन्, ‘यात विधि, पद्दति र अनुशासनमा बस्नुपर्छ होइन भने बाहिर जानुपर्छ, यो सैद्धान्तिक कुरा हो ।’
भुसालका अनुसार वैद्यले विधि र अनुशासन नमन्नेलाई जबर्जजस्ती पार्टीमा राख्ने पक्षमा आफू नरहेको बताएका छन् ।
वैद्यको प्रस्तावमा संविधानसभा प्रतिगामीहरुको हतियारमा परिणत भएकाले विघटनका लागि संघर्षमा जानुपर्ने उल्लेख छ ।
यस्तै बैठकमा असन्तुष्ट सचिव चन्दले विचार मिल्नेहरुबीच भएको छलफललाई पार्टी फुटाउन लागेको आरोपसहित अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाए । उनले आगामी मंसिर वा पुससम्ममा विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।
विशेष महाधिवेशनमार्फत कार्यदिशाको विवाद हल गर्नुपर्ने चन्दको प्रस्ताव छ । उनले विशेष महाधिवेशनमा बहुमतले आफूद्वारा प्रस्तावित ‘एकीकृत क्रान्तिको कार्यदिशा’ अस्वीकृत भए आफू बहुमतको निर्णय मान्न तयार रहेको बताए ।
पार्टी नेतृत्व अकर्मण्यतामा फसेको र स्पष्ट कार्यदिशा ल्याउन नसेकको भन्दै चन्द पक्षले गत कात्तिक अन्तिम साता कपिलवस्तुको शिवगढी जंगलमा गोप्य भेला गरेको थियो ।
उक्त भेलालाई फुटपरस्त गतिविधिको संज्ञा दिँदै संस्थापन पक्षले चन्द र पोलट्ब्यिुरो सदस्य खड्गबहादुर विकासँग लिखित स्पष्टीकरण सोधेका थियो ।
चन्द पक्षले स्पष्टीकरण मागेकामा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिनुका साथै अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले आत्मालोचना नगरेसम्म बैठकमा भाग नलिने बताएको थियो ।
शनिबारको बैठकमा चन्द पक्ष सहभागी नभएपछि वैद्य, थापा र चन्दबीच भएको छलफलमा स्पष्टीकरणको निर्णय फिता लिने सहमति भएको थियो । सहमतिअनुसार चन्द पक्ष आइतबार बैठकमा सहभागी भएको हो ।
बैठक सोमबार बिहान ११ बजे पुन: बस्ने गरी स्थगित भएको छ ।