२२ दलीय मोर्चा फुटाउन सहमतिको हल्ला: प्रचण्ड

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १३:१८ मा प्रकाशित

prachandaकाठमाण्डु, ७ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ दलीय मोर्चामा फुट ल्याउन काँग्रेस–एमालेले हुँदै नभएको सहमतिबारे अनावश्यक हल्ला चलाएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।
यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमार्फत सहमति र असहमतिका विषय संविधानसभामा लगेर छलफल गर्ने सहमति भएको बताइएको थियो ।
संविधानसभामा रहेका २० विपक्षी दलले राजधानीमा आइतबार गरेको कार्यक्रममा प्रचण्डले काँग्रेस–एमाले पहिल्यैदेखि २२ दलीय मोर्चामा फुट ल्याउन उद्दत रहेको र पछिल्लो प्रचार पनि त्यसैका लागि गरेको बताए ।

‘सहमति भएकै थिएन, सहमति भयो ठूलो प्रचार  गरियो’, प्रचण्डले भने, ‘उहाँहरु पहिल्यैदेखि २२ दलीय मोर्चामा कसरी फुट ल्याउने भन्ने षड्यन्त्रमा हुनुहुन्थ्यो, यो हल्लामा मैले षड्यन्त्रको गन्ध देखें ।’ उनले नियोजित हल्लाको पछि लागेर आशंका नगर्न मोर्चा घटकहरुलाई आग्रह समेत गरे ।

प्रचण्डले सहमतिको राजनीतिक र वैधकानिक आधार भत्काएर काँग्रेस–एमालेले बहुमतीय आधारमा अघि बढ्न चाहेकाले संविधान निर्माणमा जटिलता देखिएको बताए ।
कार्यक्रममा फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले काँग्रेस–एमाले मुलुकमा राजनीतिक द्वन्द्व र विभाजन ल्याउने काममा सक्रिय रहेको आरोप लगाए । विभाजन र द्वन्द्व रोकेर संविधान निर्माणम गर्न प्रतिपक्षी दलहरु एकै ठाउँमा उभिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us