
नेपालगन्ज ७ मसिंर – हिन्दु राष्ट्र घोषणाको माग गर्दै नेपाल शिव सेना बाँकेले आज नेपालगञ्जमा मोटरसाइकल जुलुस निकालेको छ ।
माघ ८ मा जारी हुन गइरहेको संविधानमा हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिन जुलुस निकालिएको हो ।
नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु भएको जुलस न्युरोड हुदै सहिद सेतु विक चोक पुष्पलाल चोक, वीरेन्द्र चोक, घरबारी टोल हुँदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै शिव सेना नेपालका केद्रीय सदस्य मनोज श्रेष्ठले हिन्दु राष्ट्र नेपालीहरुको पहिचान भएको बताउँदै हिन्दु राष्ट्र कायम नभए माघ ८ पछि देशभरिका शिव सेनाहरु एक भएर आन्दोलनमा होमिने बताए ।
सभापूर्व सयौ मोटरसाइकलमा रहेका युवाहरुले ‘हिन्दु राष्ट्र कायम गर’, ‘गौ हत्या बन्द गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।