
काठमाण्डु, ७ मंसिर – राप्रपा नेपालमा प्रभावशाली मानिने नेता पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाकाे राजीनामा मागेका छन् । पार्टीभित्र असन्तुष्ट समूहले अाइतबार गरेकाे पत्रकार सम्मेलनमा लावतीले अध्यक्ष थापालाई राजिनामा दिन २१ दिने अल्टिमेटम समेत दिएका छन् ।
लावतीको संयोजकत्वको राप्रपा नेपाल सुदृढीकरण अभियानअन्तर्गतकाे शुक्रबार र शनिबारकाे भेलाले यस्तो निर्णय गरेको लावतीले बताए ।असन्तुष्टहरुकाे भेलामा ६३ जिल्लाका पन्ध्र सय पार्टी प्रतिनिधि सहभागी भएको पनि उनले बताए ।
लावतीले पार्टीले संबिधानसभामा पठाएका अध्यक्ष थापाका भाई गणेश थापालाई फिर्ता बोलाएर अर्को योग्य व्यक्ति पठाउन पनि माग गरे ।
‘पार्टीलाई सुदृढ तुल्याउन अध्यक्ष थापाले राजिनामा दिनुपर्छ’, लावतीले भने,’जुन महाधिवेशनबाट उहाँ अध्यक्ष बन्नुभयो त्यो महाधिवेशन खारेज गर्नुपर्छ ।’ गत जेठमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
विघटन गरिएको पार्टीको भ्रातृ संगठन पुर्नस्थापित गर्नुपर्ने असन्तुष्ट समूहको माग छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक लावतीले अध्यक्ष थापाले राजिनामा नदिए नयाँ शक्ति बनाएर जनतामाझ जान तयार रहेको बताए ।