पशुपतिनगरमा चार महिनादेखि डाक्टर अभाव

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ७:२६ मा प्रकाशित

इलाम, ७ मंसिर– पूर्वी इलामको पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत चार महिनादेखि डाक्टर नहुँदा उपचारका लागि आएका बिरामी मर्कामा परेका छन् ।

एमबिबिएस डाक्टरको दरबन्दी रहेको यस प्राथमिक स्वास्थ्य केन्द्रमा गत असार १६ गते आएका डा. विराजकुमार शाह महिनादिन नबित्दै अध्ययनका लागि भनेर हिंडेपछि बिरामी मर्कामा परेका हुन् ।

लामो समयदेखि डाक्टर नहुँदा बिरामीहरू चर्काे शुल्क तिरेर भारतको दार्जिलिङ, सिक्किम र झापा तथा विराटनगरतर्फ जानुपरेको गुनासो गर्छन् ।

यहाँ दैनिक २० जना भन्दा बढी बिरामी आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रमा आउनेमध्ये केही उपचारका लागि खर्च अभावमा अन्यत्र समेत जान नसकेकाले रोग पालेर घरमै बस्नुपर्ने बाध्यता रहेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए ।

केन्द्रमा एमबिबिएस डाक्टरसहित सिनियर अहेब चार जनाको दरबन्दी भएपनि अहिले कोही पनि कार्यरत छैनन् ।  डाक्टर र सिनियर अहेब नहुँदा ल्याव, एक्सरे सेवा समेत चारमहिनादेखि बन्द छन् ।

करिब दुई वर्ष अघि सुविधासम्पन्न अस्पताल निर्माण भएपनि डाक्टर र सिनियर अहेब बस्ने गरेका छैनन् । वर्षेनी यस क्षेत्रको प्याङमा समेत यस्तै समस्या आउने गरेको छ । प्याङमा पनि प्राथमिक स्वास्थ्य केन्द्र भएपनि डाक्टर नबस्दा यहाँका बिरामी उपचार गराउन सदरमुकाम र अन्यत्रै जानुपर्ने बाध्यता छ ।

पूर्वको गोर्खे, जोगमाई, पशुपतिनगर, नयाँबजारलगायतका गाविसबाट बिरामीहरू यहाँ आउने गर्छन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेलले यहाँका डाक्टर अध्ययनमा गएलगत्तै रिक्त दरबन्दीमा पदपूर्ती नहुँदा समस्या भएको बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us