
काठमाण्डु, ७ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्नै नपाई स्थगित भएको छ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताबीच शनिबार साँझ भएको छलफलपछि समितिको बैठक आइतबार बिहान बस्ने सहमति भएको थियो ।
बैठकमा सहभागी हुन समितिका अधिकांश सदस्य बैठक कक्षमा आइसकेपछि नै समितिका सचिव मुकुन्द शर्माले बैठक स्थगित भइसकेको जानकारी गराएका हुन् । उनका अनुसार समिति सभापति डा बाबुराम भट्टराईको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
अाइतबार बिहान एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका २० दलको बैठकले शनिबारै तीन दलबीच भएको भनिएको सहमति अमान्य हुने भनेपछि संवाद समितिको बैठक स्थगित भएको बताइएको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको संवादहीनता र राजनीतिक गतिरोधलाई फुकाउन भन्दै शनिबार प्रमुख तीन दल बसेर आइतबार बैठक बोलाउन सहमत भएका थिए ।
कांग्रेस–एमालेसहित सत्तारुढ दलले सात प्रदेशसहितको अवधारणा प्रस्तुत गरेसँगै दलहरुबीच धु्रवीकरण बढेको हो ।
दलहरूबीच खासगरी सङ्घीयता, प्रदेशको सङ्ख्या, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा मतैक्यता हुन सकेको छैन ।