
काठमाण्डु, ७ मंसिर – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे लुम्बिनी अागमन स्थगित भए पनि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष लुम्बिनी जाने पक्का भएको छ । बौद्ध धर्मका अनुयायी समेत रहेका राजापाक्ष अठारौँ सार्क सम्मेलनको पूर्व सन्ध्यामा लुम्बिनी आउने भएपछि स्थानीय प्रशासनले स्वागतको तयारी पूरा गरेको छ ।
भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण स्थगित भए पनि श्रीलंकाका राष्ट्रपतिको आगमनलाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित तयारी लुम्बिनी विकास कोषले पूरा गरेको हो ।
मंसिर ९ गते मंगलबार लुम्बिनी भ्रमणका लागि आउन लागेका राष्ट्रपति राजापाक्षको स्वागतका लागि लुम्बिनी विकास कोषले तयारी गरेको छ भने सरकारले स्वागतका लागि युवा तथा खेलकुद मन्त्री पुरुषाेत्तम पौडेललाई जिम्मेवारी दिएको छ ।
विशिष्ट पाहुनाको स्वागतका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका सभासद्, पूर्वसभासद्, विभिन्न दलका प्रमुख, सङ्घसंस्थाका विशिष्ट व्यक्ति, सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीसमेत रहेको नागरिक अभिनन्दन तथा स्वागत समिति बनाइएको छ ।
सुरक्षाका लागि पूर्ण व्यवस्था मिलाइएको लुम्बिनी अञ्चलका वरिष्ठ प्रहरी उपरीÔक गणेश केसीले जानकारी दिए । राजापाक्षको भ्रमणको सुरक्षाका लागि विशिष्ट किसिमको एकीकृत सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । तयारी भारतीय प्रधानमन्त्री मोदीका लागि पनि गरिएको थियो तर मोदीको भ्रमण स्थगित भएको समाचार आइसकेको छ ।
यसैबीच लुम्बिनीलाई आकर्षक बनाउनका लागि झन्डै एक करोड ५० लाख रुपैंया खर्चिइएको छ ।
लुम्बिनी भ्रमणमा रहँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षले श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, लुम्बिनी बौद्ध विश्वविद्यालय, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुल र सडकको उद्घाटन गर्नुका साथै मायादेवी मन्दिरस्थित श्रीलङ्काली विहारमा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।
रासस