काठमाण्डु, ७ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डु बाहिरका लागि तय गरिएको पूर्वनिर्धाति भ्रमण रद्द भएको पुष्टि भएको छ ।
मोदी भ्रमणबारे सरकारका मन्त्रीहरुबीचमै फरक–फरक धारणा आइरहेका बेला एक भारतीय पक्षले मोदी भ्रमण रद्द भएको पुष्टि गरेको हो ।
सार्क सम्मेलनमा आउने क्रममा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकवरुद्दिनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीको काठमाण्डुबाहिरका भ्रमण रद्द भएको जनाएका छन् ।
मोदीले भारतमा गरेको प्रतिबद्धताका कारण काठमाण्डुबाहिरका सबै भ्रमण स्थगित गर्नुपरेको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणका बेला उहाँले लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने इच्छा देखाउनुभएको थियो र सार्क सम्मेलनकै क्रममा उहाँले ती ठाउँको भ्रमण गर्ने अपेक्षा थियो’ प्रवक्ता अकवरुद्दिनले विज्ञप्तिमा भनेका छन्, ‘तर, प्रधानमन्त्रीले मुलुकभित्र गर्नुभएको उल्लंघन गर्नै नसकिने केही आन्तरिक प्रतिबद्धता र भ्रमण तालिकाका कारण सार्कका बेला उहाँले काठमाण्डुको मात्र भ्रमण गर्नुहुने भएको छ ।’
विज्ञप्तिमा नेपालसँगको विशेष सम्बन्धबारे मोदी सचेत रहेको र आगामी दिनमा लुम्बिनी, जनकपुर र मुक्तिनाथ भ्रमण गर्न तयार रहेको उल्लेख छ ।
यसअघि बिहीबार मोदी भ्रमणको व्यवस्थापनको जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गरी मोदीको धार्मिक भ्रमण रद्द भएको बताएका थिए ।
तर नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले निधिको विज्ञप्तिप्रति आश्चर्क व्यक्त गर्दै पूर्वनिर्धारित भ्रमण तालिकामा कुनै हेरफेर नभएको बताएका थिए ।
अपरिपक्व कुटनीति देखाएको भन्दै मन्त्री निधिको सवत्र्र आलोचना भएको थियो । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले उनको राजीनामासमेत मागेको थियो ।