दरबार घुम्ने सार्क भीआईपीका श्रीमती को–को हुन् ?

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ४:३६ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– आगामी बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखका प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्र घुमाइने भएको छ ।

सार्कका विशिष्ट पाहुना प्रथम महिलालाई बिहीबार बिहान ऐतिहासिक एवम् पुरातात्विक महत्वको भक्तपुर दरबार क्षेत्र र आसपासका दर्शनीयस्थलको अवलोकन गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सहसचिव अम्बिकादेवी लुइँटेलको रेखदेखमा उनीहरूलाई भक्तपुर दरबार क्षेत्रको अवलोकन गराइनाका साथै भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने हस्तकला प्रदर्शनीमा सहभागी गराइने छ ।

तौमडी मन्दिर र वरपरको दृश्यावलोकनसँगै सोही स्थानमा सङ्क्षिप्त साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।
सार्क सम्मेलन आयोजक राष्ट्रका सरकार प्रमुख सुशील कोइरालाका तर्फबाट प्रथम महिलाको भूमिका निर्वाह गर्ने सभासद् सुजाता कोइरालाले प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुहुनेछ ।
सोही स्थानमा उहाँहरूलाई भक्तपुर जिल्लाका सभासद्, प्रजिअ, स्थानीय विकास अधिकारी, भक्तपुर जिविस र भक्तपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले स्वागत गर्ने कार्यक्रम छ ।

सार्क देशका तीन  राष्ट्राध्यक्ष र चार सरकार प्रमुखका साथ प्रथम महिलाहरु मङ्गलबार राजधानी आइपुग्ने कार्यक्रम छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us