वैद्य र बादलको अगाडि बुद्धनगरमा गर्जने भए चन्द

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते २:४९ मा प्रकाशित

netra bikram chandकाठमाण्डु, ७ मंसिर– असन्तुष्ट सचिव नेक्रविक्रम चन्द ‘विप्लव’ पक्षले बहिस्कार गरेपछि शनिबार केहीबेर बसेर स्थगित भएको नेकपा–माओवादीको विस्तारित केन्द्रीय समिति बैठक आज बस्दैछ ।

मध्याह्न १२ बजे बुद्धनगरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक सदस्य तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य सहभागी हुनेछन्  ।

बैठक हिजैका लागि बोलाइ पनि चन्द पक्षले बहिस्कार गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । संस्थापन पक्ष आफूहरुसँग स्पष्टीकरण सोध्ने नर्णय फिर्ता लिन राजी भएपछि चन्द पक्षसमेत आजको बैठकमा सहभागी हुने भएको छ ।

अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव चन्दबीच शनिबार भएको छलफलमा स्पष्टीकरणको निर्णय फिर्ता लिने सहमति भएको थियो  ।

मूल नेतृत्वले स्पष्ट कार्यदिशा अघि सार्न नसकेको र पार्टीलाई अकर्मण्यतामा राखेको भन्दै चन्द पक्षले गत कात्तिक अन्तिम साता कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गरेको थियो ।

उक्त भेलालाई फुटवादको संज्ञा दिँदै संस्थाप पक्षले चन्द र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिएपछि आक्रोशित भनेको चन्द पक्षले आफूहरुसँग स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गरी अध्यक्ष वैद्य र महासचिव थापाले आत्मालोचना नगरेसम्म बैठकमा नजाने चेतावनी दिँदै आएको थियो ।

यसैबीच आजको बैठकमा चन्दले आफ्नो पक्षले कपिलवस्तु भेलाबाट पारित गरेको प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

चन्दले तत्काल विशेष महाधिवेशन बोलाउन माग राखेर लिखिचत प्रस्ताव पेश गर्ने केन्द्रीय सदस्य झकबहादुर मल्लले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us