
जाजरकोट, ६ मंसिर– बिहीबार जाजरकोटको भेरी नदीमा बेपत्ता भएको यात्रु बसबाट शनिबार थप दुईवटा शव निकालिएको छ ।
कर्णाली चिसापानी र पोखराबाट आएको गोत्ताखोरको टोलीले पानीभित्र रहेको बसबाट दुईवटा शव निकालेको हो ।
बस नदीबाट बाहिर निकाल्न डोरीले तान्ने काम भइरहे पनि उक्त प्रयास अझै सफल हुन सकेको छैन ।
प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले निकालिएका शवमध्ये एउटा डाडाँगाउ–४ का दलप्रसाद जैसीको रहेको र अर्को शवको सनाखत हुन बाँकी रहेको बताए ।
यसअघि तीन जनाको शव फेला परेको थियो । ४ जनाले हामफालेर र ६ जनाले पौडिएर ज्यान जोगाएका थिए । अरु ५० भन्दा बढी हराइरहेका छन् ।
जाजरकोटको खलंगाबाट सुर्खेत जाँदै गरेको हिजो ना ३ ख १४०८ नम्बरको बस विपरति दिशाबाट तीव्र गतिमा आएको ट्रयाक्टरलाई जोगाउन खोज्दा जाजरकोटको भुरचौरबाट भेरी नदीमा खसेको थियो ।
घटनास्थलमा गोताखोरसहित सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताको खोजी जारी राखेका छन् ।