काठमाण्डु, ६ मंसिर– पार्टी विवाद समाधानको प्रयासमा शुक्रबारदेखि सुरु हुने भनिएको नेकपा–माओवादीको विस्तारित केन्द्रीय समिति बैठक असन्तुष्ट सचिव नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले बहिस्कार गरेको छ ।
चन्दसहित उनी पक्षधर कोही पनि सहभागी नभएपछि बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।
भुसालद्वारा जारी विज्ञप्तिमा बैठक आइइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको उल्लेख छ । विज्ञप्तिमा उनले ‘विप्लव’समूहकै आग्रहमा बैठक स्थगित गरिएको बताएकी छन् ।
‘केन्द्रीय समितिको प्लेनममा सबै कमरेडहरुलाई सहभागी गराउन आह्वान भइरहेकोमा केही जिम्मेवार कमरेडहरुले ‘प्लेनममा सहभागी हुने/नहुनेबारे केही साथीहरुबीच छलफलमा रहेको’ भनिएकोले सबै सहभागी हुने अपेक्षाका साथ आजको बैठक भोलि मंसिर ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
‘विप्लव’समूहले कपिलवस्तुको शिवगढीमा छुट्टै भेला गरेपछि संस्थापन पक्षले स्पष्टीकरण मागेको छ । विप्लव समूहले भने स्पष्टीकरण सोध्ने अध्यक्ष मोहन वैद्य ‘किरण’ र महासचिव रामबहादुर थापा ‘बादल’ले आत्मालोचना गनुपर्ने अडान राखेको छ ।
आइतबारको बैठकमा पनि ‘विप्लव’ समूह जाने नजाने अन्यौल यथावत छ । तर यसबारे असन्तुष्ट र संस्थापन पक्षबीच छलफल भने भएको स्रोतले जानकारी दिएको छ ।