काठमाण्डु, ६ मंसिर–आगामी १० र ११ गते काठमाण्डुमा हुने १८ औं सार्क शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र
पाँच मुलुकका सरकार प्रमुख सहभागी हुने भएका छन् ।
शिखर सम्मेलनमा सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी तथा संस्थापक सदस्य मालदिभ्स र श्रीलङ्काका राष्ट्रपति क्रमश: अब्दुल्ला यामिन अब्दुल गैयुम र महिन्द राजापाक्ष आ–आफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार काठमाण्डु आइपुग्ने कार्यक्रम छ ।
सरकार प्रमुखको जिम्मेवारी सम्हालेका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमश: शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्रदामोदरदास मोदी र नवाज सरिफ शिखर सम्मेलनमा भाग लिन सोही दिन यहाँ आउँदै छन् ।
शिखर सम्मेलन आयोजक मुलुक नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि सरकार प्रमुख हुन् ।