नेतालाई माघ ८ सम्झाउन हस्ताक्षर अभियान

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ९:३८ मा प्रकाशित

बागलुङ, ६ मंसिर–निर्धारित समयमै संविधान जारी गर्न दबाब दिन बागलुङमा खबरदारी अभियान सुरु गरिएको छ ।

दलहरुका अहिलेका गतिविधि र अभ्यास हेर्दा दोस्रो संविधानसभाले पनि संविधान जारी नगर्ने सङ्केत देखिन थालेपछि दबाब स्वरुप हस्ताक्षर सङ्कलनमार्फत खबरदारी अभियान सुरु गरिएको हो ।

‘हामी नेपाली असफल हुन चाँहदैनौं’, माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता सम्झाउन चाहन्छौँ’, भन्ने नाराका साथमा जिल्लामा क्रियाशील मानव अधिकारवादी संस्थाले सर्वसाधारणको हस्ताक्षर सङ्कलन थालेका हुन् ।

अभियानमा जिल्लामा क्रियाशील एक दर्जनभन्दा बढी मानवअधिकारवादी सङ्घसंस्था लागिपरेका छन् ।

‘हस्ताक्षर सङ्कलन अभियानले माघ ८ मै संविधान जारी गर्न दबाब पुग्नेछ’, सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाले भने, ‘यस अभियानले नेताले संविधानसभाको निर्वाचनताका जनतासामु गरेको वाचाको पुनःस्मरण गराउने छ ।’

अभियन्ताहरुले संविधान जारी गर्ने समय नजिक आइसकेको समयमा संविधानको मस्यौदासमेत तयार नभएको भन्दै तोकिएकै समयमा संविधान जारी गर्नसमेत माग गरेका छन् ।

सङ्कलित हस्ताक्षर संविधानसभा सभामुख सुवासचन्द्र नेम्वाङलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us