मानव तस्करले प्यूठानबाट ८३ बालबालिका बेपत्ता पारेको खुलासा

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ६:४१ मा प्रकाशित

प्युठान, ६ मंसिर– प्यूठान जिल्लामा पछिल्लो तीन वर्षमा ८३ जना महिला तथा बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता भएकामध्ये २५ जना फेला परे पनि ५८ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घरायसी विवाद, बालविवाह, मदिरा र वैदेशिक रोजगारी नै हराउनुको प्रमुख कारणका रुपमा देखिएका छन् ।

बेपत्ता भएको तथा हराएको सूचना दर्ता गरी खोज्न प्रहरीमा आउने तर फेला परेपछि त्यसको जानकारी नगराउदा यर्थात् तथ्याङ्क आउन नसकेको प्रहरी प्रमुख दीपक रेग्मीले बताउनुभयो ।

जिल्लामा कति पुरुष हराए भन्ने तथ्याङ्क नभए पनि महिला तथा बालबालिकाको तुलनामा पुरुष न्यूनमात्रामा हराउने गरेका छन् ।
महिला हराउने तथा बेपत्ता हुने दर वृद्धि भएसँगै जिल्लामा यो विषय चुनौतीको रुपमा रहेको छ । ‘प्युठान र रोल्पाका बालबालिका अहिले रोजगारीका लागि भन्दै घरबाट भागेर जाने गर्छन्’, प्रमुख रेग्मीले भने, ‘बालबालिकामा अभिभावकको ध्यान कम जानु नै अर्को समस्या हो ।’

जिल्लामा महिला हराउनेदर वृद्धि भएको भन्दै महिला अधिकारकर्मी पार्वता आचार्यले जनचेतनासँगै महिला आत्मनिर्भरमा ध्यान दिनुपर्ने बताए ।

श्रीमान् वैदेशिक रोजगारीका लागि भन्दै विदेसिने तर घरमा भएकी श्रीमती पराई पुरुषसँग लागेर भाग्ने गर्नाले पनि महिलाको अवस्था अज्ञात हुने गरेको अधिकारकर्मीको भनाइ छ ।
‘बालबालिका तथा महिला बेपत्ता हुने वृद्धिदर हुनु सामान्य कुरा होइन’, जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्टले भने, ‘यसले जिल्लामा ठूलो समस्या निम्ताउन सक्छ ।’

बेपत्ता तथा हराउनेको दर वृद्धि भएसँगै जिल्लाबाट मानव तस्कर हुने तथा उनीहरुलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको हुन सक्ने सरोकारवालाको बुझाइ छ ।

आर्थिक वर्ष २०६९÷७० मा २६ जना महिला र सातजना बालबालिका हराएका थिए । तिमध्ये सातजना महिला र पाँचजना बालबालिका फेला परेको प्रहरीको भनाइ छ ।

त्यसैगरी आव २०७०÷७१ मा २३ जना महिला र १८ जना बालबालिका हराएका छन् । जसमध्ये चारजना महिला र पाँचजना बालबालिका फेला परेका छन् ।

आर्थिक वर्ष २०७१÷७२ को पहिलो चौमासिकमा सातजना महिला र दुईजना बालबालिका हराएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये एकजना महिला फेला परे पनि बालबालिका एकजना पनि फेला परेका छैनन् । क्रमशः हराउने तथा बेपत्ता हुने दर जिल्लामा बढ्दै गएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us