विराटनगर, ६ मंसिर– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको गाडीलाई अर्को गाडीले ठक्कर दिएको छ ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको पण्डित सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशामा रहेको को १ च ७०६४ नम्बरको स्कार्पियो गाडीले आज बिहान ठक्कर दिएको हो ।
ठक्करबाट गाडी कुच्चिए पनि मन्त्री पण्डित सशुकल छन् । घटनामा स्वकीय सचिव ओसिम आलम घाइते भएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री पण्डित ठूलो दुर्घटनाबाट जोगिएको भनाइ प्रहरीको छ ।